‘अराजक आमाहरु’को सन्दर्भमा
१. विषय प्रवेश
नेपाली साहित्यको काव्यफाँटमा आफ्नो दमदार उपस्थिति जनाइरहेकी एक सशक्त मकवानपुरे कवयित्री हुन् अनिता न्यौपाने । चिनाइरहनु पर्ने नाम होइन कविता पाठकका लागि, यद्यपि न्यौपानेले आफूलाई अब्बल साबित गरिसकेकी छन् आख्यानमा पनि । अन्यान्य विधा–उपविधमा पनि सिर्जना आएको देखिए पनि न्यौपाने मूलतः हुन काव्यधाराका उज्ज्वल हस्ताक्षर । मूल काव्यिकपथ यथार्थवाद तथा प्रगतिशीलता भए पनि गर्दछिन् यिनी विभिन्न विचारका स्वच्छन्द काव्यसिर्जना पनि । वैशिष्ट्यमा आक्रामकता पनि देखिन्छ यिनमा जोगिन खोज्छिन् अराजकताबाट ।
हालै सार्वजनिक गरेकी छिन कवियित्री न्यौपानेले ‘नागरिक’ दैनिकमा प्रकाशित भनेर ‘अराजक आमाहरु’ शीर्षकको कविता आफ्नो फेसबुकमा । यसै कविताको सेरोफेरोमा मैले गरेको छु जमर्को कवयित्री न्यौपानेको प्रवृत्तिबारे विश्लेषण यहाँ ।
२. ‘अराजक आमाहरु’ को आयाम
गद्यलयमा लेखिएको प्रस्तुत कवितामा छन् छ अनुच्छेद (श्लोक !) । ५२ पङक्तिको यस कवितामा शब्दहरूको समानता पङक्तिको तहमा देखिएको छैन भने यसमा रहेको छ अनुप्रासिकताको अभाव पनि । अन्तर्लयले आद्योपान्त जोडिएको प्रस्तुत कवितामा शीर्षकबाहेक खर्चिएको छ २२५ शब्द । कतै पनि पूर्णविराम चिन्हको उपयोग नगरिएको यस कविताको अन्त्य प्रश्नवाचक चिन्हको प्रयोग गर्दै उभ्याइएको छ उत्तरको खोजीमा एक अहम प्रश्न । भन्न सकिन्छ यसलाई चलनचल्तीको काव्यायाममा मझौला कविता ।
३. कविताको अन्तर्य
दश शब्दको पहिलो श्लोक हो आरम्भिका । आमाहरूले आफूलाई बदल्नुपर्ने र छोरीको मथिङ्गलमा परिवर्तनको ध्वनि फैलाउनुपर्छ भन्ने मूल ध्वनि हो आरम्भिकाको । कविताको प्रवेश र सङ्केत एकसाथ प्रस्तुत गरेको छ यसले । विषयको विस्तार भएको छ कविताको दोस्रो श्लोकमा । आमाहरू स्वयं नै परिवर्तनको अगुवा भएर छोरीहरूलाई सिकाउनुपर्ने भाव छ यसमा । आमाले नगर्ने हो भने छोरीले पनि गर्दै नगर्ने तर्क दिइएको र दिइएको छ यसको परिणाम सधैं विभेदपूर्ण वर्तमान रहिरहने तर्क । पुरुषसत्ताको जिब्रो थुत्न नसक्ने हो भने आफ्नै घरको पुरातनी पर्खालको चौघेराका सधैं चक्रव्यूहमा छोरी घेरिइरहने तथ्यको प्रस्तुतिकरण पनि छ यसमा । परिवर्तनको मूल संवाहक आमा नै बन्नुपर्ने भनाइ हो प्रस्तुत कवितांशको ।
समान पचास शब्दको तेस्रो श्लोकमा अझ पाएको छ विषयले विस्तार । यसमा आमा आफैं बलियो हुने र सत्ता लिने समय रहेको सचेतनाका साथ आमाहरूले विष ओकल्नेहरूका अगाडि क्याक्टस बन्नुपर्ने तथा छोरीहरूलाई काँडा उम्रन सिकाउनुर्ने दायित्वलाई गराइएको छ बोध । छोरीहरूलाई मैला विचारविरुद्ध खुकुरी बोकेर नाच्न सिकाउनुपर्ने तथा बमहरू पड्काउन सिकाउनुपर्ने बताइएको छ अन्यायविरुद्ध । आमा आफैं सजग बन्नुपर्ने र छोरीलाई पनि सचेत बनाउनुपर्ने मूल कथ्य रहेको छ यस श्लोकको ।
उन्चालिस शब्दको चौथो श्लोकले विषयविस्तारलाई अवरोहतिर लगेको गरेको छ सङ्केत । आमा आफैंले उदाहरण बन्नुपर्ने कुनै पनि सचेतना प्रस्तुत गरिएको छैन यसमा र प्रस्तुत गरिएको छ आमाले सिकाउनुपर्ने कर्तव्यका पुलिन्दाहरूलाई । पितृसत्ताको सोचमा आगो निकालिदिन, केही व्यभिचारी आँखाहरू निकालिदिन, अनुहारका मुखुन्डाहरू लुछिदिन, वासना बोल्ने थुतुनाहरू च्यातिदिन तथा उज्यालो निलेर उज्यालो ओकल्न सिकाउनुपर्ने भावको प्रस्तुति छ क्रान्तिकारीमय भावका साथ । ‘उज्यालो निलेर उज्यालै ओकल्न सिकाउनुपर्छ’ भन्नका लागि अनेक बिम्ब र प्रतीकहरूको प्रयोग गरिएको यस श्लोकसित अघिल्लो श्लोकको संयोग नै मान्नुपर्छ – भएको छ एउटै समापिका क्रियाको पुनरागमन । यस क्रियाले काव्यको अन्तर्लय र भावसामीप्यमा निर्वाह गरेको सम्बन्ध सेतुको भूमिका । सम्भवतः कवयित्रीले भन्न खोजेको मुख्य भावको सम्वाहक बन्न पुगेको छ यही अनुच्छेद/श्लोक ।
अवरोहको ओरालोमा रहेको पाँचौं श्लोकमा रहेका एकचालिस शब्दले आमालाई उपदेश र निर्देशको भाव ओकलेको छ समग्रमा । आमाले नै गर्नुपर्ने कर्तव्याकर्तव्यबोधको यो श्लोकले आमाले चण्डीनाच नाच्नुपर्ने, सहनशीलताको घुम्टोमा छोपिरहन नहुने, आफ्ना रहरहरूलाई मर्न दिन नहुने, आफैंविरुद्ध आँखामा आफ्नो आफैंले पट्टी बाँध्न नहुने, आफैँविरुद्ध आफू नै मौन बनिरहनुनपर्ने भन्दै शङ्खनादसँगै समानताको उद्घोष गर्नुपर्ने बताइएको छ सहज रूपमा ।
अन्तिम श्लोक हो ३५ शब्दको । सामान्यतया अन्तिम श्लोकमा निष्कर्ष प्रस्तुत गरिएको हुन्छ कवितामा । आमाले आगो बन्नुपर्ने, कुविचारहरूलाई जलाउनुपर्ने, देखावटी देवी बनेर बाँचिरहन नहुने, खरानी, धुलो, विचरा र बेसहारा बनिरहन नहुने वैचारिक अभिव्यक्तिसहित प्रश्न गरिएको छ अन्तिममा – लेखिने बेला भएन र अब त आमाहरूको पनि इतिहास ? अन्तिममा आएको प्रश्नले गरेको छ उत्तरको खोजी तर कस्तो उत्तर हुनुपर्ने हो भन्ने कविताको भावले पारेको छ स्पष्ट । आमाहरूको पनि इतिहासको खोजी गरिनुपर्ने तर पुरुषवादी दृष्टिकोणले नभई नारीवादी दृष्टिकोणले र अझ विद्रोही दृष्टिकोणले लेखिनुपर्ने हो भन्ने आह्वान छ कविताको ।
४. वैचारिक पक्ष
वर्गमा विभाजित छ समाज । वर्गीय र लैङ्गिक विभेद तथा शोषणले बहुआयामिक शोषणको साम्राज्य स्थापित गरेको छ वर्तमानमा । अझ आधा आकाश मानिने तर हक र अधिकारको क्षेत्रमा मात्र नभई सामाजिक तथा पारिवारिक भूमिकामा शून्यमा रहेको नारीको अधिकारको वकालत गरेको प्रस्तुत कविता नारीवादी कविता हो भन्दा नहोला अत्युक्ति । नारीवादी दृष्टिकोणले विद्रोहको आगो ओकलेको भए पनि यसमा पाइन्न प्रत्यक्ष वर्गीय पक्षधरता खासै । आमाहरू र छोरीहरू सशक्त हुन सकेमा शोषण र उत्पीडनका जालोहरू च्यातिने र उज्ज्वल अर्थात् विभेदरहित, शोषणरहित समाज हुने सुन्दर परिकल्पना हो कविताको । यही समानताको वैचारिक उद्घोष गरेको प्रस्तुत कविताले आफूभन्दा माथिको आमा जाति (पुस्ता) र छोरी जाति (पुस्ता)लाई सचेत आमाले नै अझ सचेत तुल्याउनुपर्ने दिएको छ निष्कर्ष ।
५. शीर्षक सार्थकता
कविताको शीर्षक रहेको छ ‘अराजक आमाहरू’ । ‘अराजक’ विशेषणले ‘आमाहरू’ विशेष्यको लागि आएर अभिधामा ‘आमाहरूलाई अराजक’ भनिएको प्रतीत हुन्छ शीर्षक हेर्दा । पाइँदैन कविताभित्र ‘आमा’ र ‘आमाहरू’ तथा ‘छोरी’लाई विद्रोहिणी वा अराजक बताइएको वा बनाइएको । लगाइएको छैन कुनै पनि आमालाई अराजक भएको आरोप पनि । तर वर्तमान र विगतका अनेकन विकृति तथा विसङ्तिमाथि प्रहार गर्नुपर्ने तथा त्यस्तै व्यावहारिक शिक्षा छोरीलाई पनि दिनुपर्ने आह्वान छ कवितामा । हुने हुन्छ ‘अराजकता’ र ‘विद्रोह’मा भिन्नता । यी दुईमा ‘समता’को अर्थमा यहाँ मानिएको हुनुपर्छ प्रतीकार्थमा आमाहरूलाई ‘अराजक’ । शीर्षकमा गौण रहेको ‘छोरीलाई शिक्षा’ पनि कविताको हो विशिष्ट पाटो र अभीष्ट पनि ।
६. र अन्त्यमा,
सरल शब्दमा कवयित्री न्यौपानेले आफ्नो मनको भावलाई प्रवाह दिन सफल यस कविताले दिएको छ सुस्पष्ट सन्देश । पुरातन रीतिहरूमा धेरै परिवर्तनको बोध गराउने प्रस्तुत कविताले कवियित्रीलाई पनि चिनाएको परिवर्तनकारी सर्जकको रूपमा । सरल बिम्ब र प्रतीकहरूको उपयोगले सरल र सुबोध बनेको प्रस्तुत काव्यले बोकेको विद्रोहको भावले बढाएको छ यसको गरिमालाई । अझ सुन्दर र कलात्मक काव्यले कवयित्री न्यौपानको काव्यधरातललाई बनाओस् अझै बलियो र फराकिलो, यही छ भन्ने शुभेच्छा ।
(साहित्यमा मकवानपुरको महक: शृङ्खला २९)