कालिदेवी दुग्ध उत्पादक सहकारीको २९ औँ साधारणसभा सम्पन्न
हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित श्री कालिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ आँै वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विक्रम योञ्जनको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले कृषकले दूध विक्रि गरेबापत्को भुक्तानी चाँडै पाउनुपर्ने उल्लेख गरे ।
उपभोक्ताले महंगो शुल्कमा दूध खरिद गर्नुपरेता पनि उत्पादक कृषकले भने उचित मूल्य नपाएकोमा चिन्ता व्यक्त गर्दै विचौलियाको अन्त्यका लागि सम्बन्धित पक्षले चासो देखाउनुपर्ने उनले बताए ।
त्यस्तै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले कृषकहरुको हितका लागि मकवानपुरगढी गाउँपालिकाले नीति नै बनाएर विभिन्न कार्यक्रम गरिएको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग समन्वय गर्न तयार रहेको बताए ।
कार्यक्रममा विभिन्न विद्यामा कृषकहरुलाई सम्मान गरिएको थियो भने सहकारीका व्यवस्थापक चन्द्रकान्त पुडासैनी, पत्रकार बलराम पुडासैनीसहित कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिलाई सम्मान गरिएको थियो ।
भेलाले अध्यक्षको र लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रममा मकवानपुरगढी ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, ३ नम्वर वडा अध्यक्ष भागवत घिमिरे, सहकारीका निवर्तमान अध्यक्ष अर्जुनप्रसाद सापकोटा, पूर्व अध्यक्षहरु र सहकारी सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कृष्णप्रसाद बञ्जाराले कार्यक्रमलाई सहजिकरण गरेका थिए ।