हेटौंडा–१२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

तु खबर संवाददाता
२०८१ पुष २८,आईतवार १६:०५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१२ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१२ का वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले जानकारी दिए ।

बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले यही माघ २ गते बुधबार १२ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको बताए ।

यस वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता गरि बाल अधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ समेत गरि बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ४७ वटा सूचकहरु १०० प्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गर्दै गरेको वडाध्यक्ष तिवारीले बताए ।

हेटौडा उपमहानगरपालिकाको १९ वडामध्ये यस १२ नं. वडाको कूल क्षेत्रफल १६ दशमलव १४ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वमा हेटौंडा–९, पश्चिममा मनहरी गाउँपालिका, उत्तरमा राप्ती खोला (वडा नं. ३, ११ र १९), दक्षिणमा हेटौंडा–१३ रहेको छ ।

घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार कुल २२३६ घरधुरी रहेको यस वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३ हजार ७८ रहेको छ जसमा १ हजार ५७८ बालक र १ हजार ५०० बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्रसहितका जम्मा ५ वटा विद्यालयहरु सञ्चालनमा छन् ।

यसैगरी, २२ वटा बालसमूहहरु र १ वडास्तरीय बाल समूह सञ्जाल रहेको छ । जसमा ५ सय ५० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ५ सय ८९ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।