राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस

तु खबर संवाददाता
२०८१ पुष २८,आईतवार १७:१८

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित एक समारोहबीच महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवम् मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए ।

उनले नेपालको संविधानको मौलिक हकमा अपराध पीडितको हक सुनिश्चित गरेको सन्दर्भमा त्यस्तो हकको रक्षाको लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

यस्तै, सो अवसरमा महान्यायाधिवक्ता बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरे ।