रवि लामिछानेमाथिको थुनछेक बहस सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बुधबार भएको थुनछेक बहस सकिएको हो ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।
दुबै जनाको सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । यसैगरी, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।
बहस सकिएसँगै यसबारे आज नै आदेश आउने जनाइएको छ । अब लामिछानेलाई मुद्दा पुर्पक्षका लागि हिरासतमा पठाउने वा बाहिर बसेर नै मुद्दा पुर्पछको सुविधा दिनेबारे अदालतले आदेश दिने बताइएको छ ।