आज चार संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत आज विभिन्न चार वटा समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।
जसनुसार, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ । सो बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्नेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । सो बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।