अध्यादेश सहमतिमै ल्याइएको होः कांग्रेस

तु खबर संवाददाता
२०८१ माघ ३,बिहीबार १४:१०
file-photo

काठमाडौँ । नेपाली कांग्रेसले सहमतिमै सरकारले अध्यादेशहरु ल्याएको स्पष्टिकरण दिएको छ ।

सत्तारुढ दलसमेत रहेको कांग्रेसले आफ्नो पार्टी सँगको सहमति मै सरकारले अध्यादेश ल्याएको बताएको हो ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरुसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यस विषयमा प्रष्ट पारेका हुन् ।

‘अध्यादेशको विषयमा हामी स्पष्ट छौं । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो । आर्थिक सुधार र सुशासनको पक्षमा,’ घिमिरेले भने, ‘यदी तत्कालै अध्यादेश नल्याउने हुँदा सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा प्रवाह हुने भयो । कानुनी राज्यमा कानुनको संशोधन नगरी यसलाई अघि बढाउन सकिने अवस्था थिएन ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा अध्यादेश जारी गरिसकेका छन् । अध्यादेश र सरकारको पछिल्लो कामकारबाहीबारे कांग्रेसभित्रै केही नेताहरू असन्तुष्ट देखिएका छन् ।