‘सहिद स्मारकः देशकै नमुना सहिद केन्द्रसँगै पर्यटकीय गन्तव्य’
सहिद स्मारक विकास समितिका व्यवस्थापक रामचन्द्र न्यौपानेसँग तु खबरले गरेको कुराकानीको सम्पादित अंश ।
सवालः सहिद स्मारकको पृष्ठभूमिबारे जानकारी गराइदिनुहोस् न ?
जवाफः नमस्कार, म सहिद स्मारक विकास समितिको व्यवस्थापक रामचन्द्र न्यौपाने । २०४६/०४७ को ऐतिहासिक जनआन्दोलन सफल पार्न सहिदको सम्मानमा सहिद स्मारक निर्माण गर्नुपर्छ भन्ने नीतिको सन्दर्भमा २०५०/०५१ सालमा स्मारक निर्माण गर्ने निर्णय गरिएको थियो । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले यो स्मारकको उद्घाटन गर्नुभएको हो । त्यसपश्चात् विभिन्न कालखण्डमा यसको विकास हुँदै आएको छ । त्यसबेला समिति गठन गरेर संरक्षण समितिको नाम दिएर यसको संरक्षणको सुरुवात गरेका थियौँ । सबैको निरन्तर पहल र सहयोगले हामी अहिले यहाँसम्म आइपुगेका छौँ ।
सवालः स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनको अवस्था कस्तो छ ?
जवाफः सहिद स्मारक ऐतिहासिक महत्व बोकेको ठाउँ हो । पर्यटकीय दृष्टिकोणमा समेत यसको महत्व निकै छ । त्यसकारण यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको आवागमन भइरहन्छ । बाह्य जिल्लाबाट आउनुभएको मानिसहरु पनि हेटौंडा आएपछि स्मारक जाऔँ न त भन्ने खालको वातावरण बनेको छ । घुम्न तथा अवलोकन गर्न आउने, वनभोजको लागि आउने धेरै हुनुहुन्छ । हामीले बृद्धबृद्धाको लागि प्रवेश निशुल्क बनाएका छौँ । त्यसकारण बालकदेखि बृद्धसम्मको उपस्थिति भइनैरहन्छ ।
सुरु–सुरुमा चितवन, नवलपरासीलगायत मकवानपुरसँग जोडिएका नजिकैको जिल्लाहरुबाट अत्याधिक मात्रामा स्मारकको भ्रमण गर्न आउनुहुन्थ्यो । पछिल्लो समय भने तराई क्षेत्र, भारतको रक्स्यौललगायतका स्थानका व्यक्तिहरु पनि आउनुहुन्छ ।
सवालः सहिद स्मारकको विकासका लागि समितिले अहिले के– कस्ता गतिविधि गरिरहेको छ ?
जवाफः हामीले अहिलेको पुस्तालाई सहिदको सम्मान र सहिदको योगदान बारे जानकारी गराउनको लागि समय सान्दर्भिक विभिन्न कार्यहरु गर्दै आएका छौँ । यहाँ सहिद अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ । त्यसलाई अझै व्यवस्थित बनाइरहेका छौँ । सहिदको नाममा स्थापना भएको कारणले गर्दा यसलाई पर्यटन विकास क्षेत्रको रुपमा पनि व्यवस्थित गर्नुपर्ने भएकोले पिकनिक स्पोर्टस्, सामान्य चिडियाखानालगायत सहिद स्मारकमा धेरै संरचनाहरु निर्माण गर्नुका साथै स्वास्थ्य, मनोरन्जनका लागि आवश्यक संरचना निर्माण गरिएको छ । भदौं १ गतेबाट हामीले रात्रीकालिन सेवा पनि सुरु गरेका छौं । रात्रीको समयमा स्मारक भ्रमण गर्नेहरुको संख्या बढ्दोछ । राति १० बजेसम्म स्मारक खुला गर्ने गरेका छौँ ।
सवालः आर्थिक व्यवस्थापनबारे पनि केही भनिदिनुहोस् न ?
जवाफः हेटौंडा उपमहानगरपालिका र तत्कालिन जिल्ला विकास समितिको सहयोगमा हामीले विभिन्न संरचना निर्माण गरेका हौँ । भ्रमण गरेबापत् शुल्क लिने गरेका छौँ । अहिले हामी आर्थिक रुपमा सबल बन्दै गइरहेका छौँ । हाम्रो जति पनि स्मारक समितिको जग्गा थियो त्यहाँ सबै स्थानमा विभिन्न संरचना निर्माण गरिसहेका छौँ र बाँकी वन समितिको जग्गा भएको कारणले गर्दा केही कठिनाइहरु भइरहेको छ । यदी बैधानिक रुपमा हामीले जग्गा प्राप्त गर्यौँ भने स्मारकको विकासका लागि थुप्रै काम गर्न सकिन्छ । यहाँ नजिकै पुन्य क्षेत्र छ । त्यसलाई पनि जोडेर व्यापक रुपमा व्यवस्थित गर्ने सन्र्दभमा हामी छलफल गरिरहेका छौँ । हामीसँग अहिले करिब ३५ जना कर्मचारी नियमित काममा हुनुहुन्छ । आवश्यक पर्दा दैनिक ज्यालादारीमा पनि खटाउँछौँ । समग्रमा भन्नुपर्दा व्यवस्थापनका लागि आर्थिक समस्या छैन ।
सवालः समितिले वार्षिक कति आम्दानी गर्छ त ?
जवाफः हामीले वार्षिक करिब २ करोडको हाराहारिमा आम्दानी गर्दै आएका छौँ । दशैं तिहारपश्चात् वनभोजका लागि आउनेको संख्या बढ्दै जान्छ । असार, साउन महिनामा संख्या केही कम हुन्छ । आम्दानीलाई हामीले सही सदुपयोग गरेर पर्यटकलाई बढी भन्दा बढी जानकारी दिने, मनोरन्जन दिने, पार्कलाई व्यवस्थित गर्ने कार्यमा हामी व्यस्त हुन्छौँ । सहिद स्मारक जति व्यवस्थित र सफा स्मारक देशैभर कहिँ छैन । नेपालकै एउटा नमुनाको रुपमा रहेको र त्यसमाथि पनि सहिदहरुको आस्थाको रुपमा हामीले विकास गरेका छौं ।
सवालः राज्यको तर्फबाट स्मारक विकास समितिलाई भइरहेको सहयोग समन्वयप्रति सन्तुष्ट हुनुहुन्छ ?
जवाफः स्मारकलाई यहाँसम्म ल्याउन राज्यका विभिन्न निकायबाट सहयोग भएका छन् । अहिलेको अवस्थामा स्मारक विकास समिति आफै निर्भर भएको कारणले हामी राज्यप्रति सन्तोषजनक नै हुनुपर्ने अवस्था छ । हामीले माग गरेको अवस्थामा राज्यले धेरै, थोरै जति हुन्छ उपस्थिति जनाएको अवस्था छ ।
सवालः आगामी योजनाहरु के–के छन् ?
जवाफः योजनाहरु त हामीसँग थुप्रै छन् । तर, हामीसँग अहिले जनिनको अभाव छ । हामीले मकवानपुर जिल्लामा बसोवास गर्ने विभिन्न जातजातिको संस्कृति झक्लिने खालका संग्राहलय निर्माण गरिरहेका छौं । त्यसको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षबाट उक्त संग्राहलय संचालन हुनेछ । यस्तै, आवासीय ट्रेनिङ हल बनाएका छौँ । त्यहाँ लगभग ४०–५० जना बसेर काम गर्नसक्ने व्यवस्था छ । धेरै कुरा हुँदाहुँदै पनि वनको जग्गाको कारणले गर्दा कानूनी जटिलता पनि बेलाबखतमा भोग्दै आएका छौँ । भखरै स्वास्थ्य तथा मनोरन्जनका लागि विभिन्न संरचना बनेका छन् ।
पर्यटकहरुको आगमनलाई मध्यनजर गर्दै विशेष गरी सहिदहरुलाई सम्मान हुने गरी नेपाली झण्डा राखिएको छ । जति पनि यहाँ आउने पर्यटकहरु हुनुहुन्छ उहाँहरुले स्मारक व्यवस्थापनको राम्रो फिडब्याक दिइरहनुभएको छ । साथै सहिद स्मारक अवलोकन भ्रमणमा आइदिनुहोला भन्ने सम्पूर्णमा अनुरोध छ । सहिद स्मारकको विषयमा जिज्ञासा राखिदिनुभएकोमा मकवानपुरको लोकप्रीय संचारमाध्ययम तु खबर डटकमलाई पनि धन्यवाद दिन चाहान्छु ।