बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक हेटौंडामा

तु खबर संवाददाता
२०८१ माघ ४,शुक्रबार ०९:०४

हेटौंडा । बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक बिहिबारदेखि प्रदेश राजधानी हेटौंडामा सुरु भएको छ । संघ, प्रदेश र स्थानीय तह ऐन, २०७७ को दफा २४ (१) को व्यवस्था अनुसार मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख लगायतको उपस्थिति रहेको थियो । बिहिबार बसेको पहिलो दिनको बैठकमा ३ वटा कार्यपत्र प्रस्तुत भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वेद प्रसाद भण्डारीले प्रदेश तथा स्थानीय तहका कर्मचारी व्यवस्थापन, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले विपद् व्यवस्थापन र यसका चुनौतीहरु र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनालीले अन्तर सरकारी वित्तीय हस्तान्तरण र राजश्व बाँडफाँड विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र माथिको छलफल बोल्दै गाउँपालिका महासंघ बागमती प्रदेशको अध्यक्ष कर्णबहादुर मगरले प्रदेश लोक सेवा आयोग र सुशासन केन्द्रलाई क्रियाशील बनाउन सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी, रसुवाकी उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले जनप्रतिनिधिहरुको लागि क्षमता अभिवृद्धिको तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, छलफलमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकप्रसाद गौतमले डोजरे विकासलाई निरुत्साहित गर्नुपर्ने बताए । आन्तरिक श्रोतको नाममा प्रकृतिको दोहन गर्ने कामहरु भइरहेको उनले बताए । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले दीर्घकालिन रुपमै भौतिक संरचना निर्माणमा देखिएका समस्याहरुलाई समाधान गर्नुपर्नेमा जोड दिए ।

शुक्रबारको बैठकमा बागमती प्रदेशको दोश्रो आवधिक योजना र प्रदेश आयोजना बैंक सञ्चालन र प्रादेशिक औद्योगिक व्यापार ऐनको कार्यान्वयनको अवस्था विषयक कार्यपत्र प्रस्तुत हुनेछ ।

तीनै तहका सरकारबीच अधिकार बाँडफाँट, विकास निर्माण, कानुन निर्माणमा समन्वय एवं सहकार्य र उत्पन्न विवाद संवादबाट समाधान गर्न सहजीकरण गर्न परिषद्को बैठक बस्ने गरिन्छ ।

यसअघि बागमती प्रदेशमा गत २०७५ जेठ ७ र ८ गते पहिलो बैठक, २०७६ जेठ २९ र ३० गते दोस्रो बैठक, २०७७ चैत्र १२ गते तेश्रो बैठक र २०८१ जेठ १० गते चौथो बैठक बसेको थियो ।