अवैध लागूऔषधसहित १० जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ ४,शुक्रबार १४:००

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । मोरङ, कञ्चनपुर, उदयपुर, कैलाली, झापा, सुर्खेत र कपिलवस्तुबाट प्रहरीले लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय ६० मिलिग्रामसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–४ रामपुर बस्ने ४० वर्षीय सुरज खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला बस्ने ७७ वर्षीय डबल कठायतलाई अवैध लागूऔषध चरेश ७९ ग्राम ५ सय मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम ६ सय ५० मिलिग्रामसहित सोही नगरपालिका–१८ बस्ने २१ वर्षीय मोहन बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले गड्डाचौकीबाट बजारतर्फ जाँदै गरेको म.१ ह १३०५ नम्बरको अटोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, उदयपुरको बेलका नगरपालिका–८ सिर्वानीबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित भोजपुर आमचोक गाउँपालिका–१ वासिङथर्पु बस्ने २५ वर्षीय दाजुङ्ग शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले मायुङ्गटारबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ज ३४९९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक शेर्पालाई पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय रमेश रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय गोबिन्द सिहं महरालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ३ सय ६० मिलिग्रामसहित पाँचथर फिदिम नगरपालिका–१३ बस्ने ३० वर्षीय सनम राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३३ वर्षीय हिमाल शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ४० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ४० मिलिग्रामसहित वाणगंगा नगरपालिका–८ बोर्डगाउँ बस्ने ३५ वर्षीय विकाश परियार र सोही नगरपालिका–४ दरखास्त बस्ने ३२ वर्षीय कमल सेनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.८ प ७४४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।