‘फलामखानी र मल कारखाना खुल्दैछ’

तु खबर संवाददाता
२०८१ माघ ४,शुक्रबार १५:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखाना जस्ता ठुला उद्योगको स्थापना हुने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ फलामखानी र मल कारखाना स्थापनाको क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएको बताउँदै उत्पादित ऊर्जाको खपतको चिन्ता नलिन आग्रह गरे ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको बताउँदै उनले व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरुलाई उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको उल्लेख गरे ।

उनले राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।