बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक सम्पन्न

तु खबर संवाददाता
२०८१ माघ ४,शुक्रबार १७:२०

मकवानपुर । बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक शुक्रबार सम्पन्न भएको छ । प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट सुरु भएको उक्त बैठक विभिन्न २३ वटा निर्णयहरु गर्दै आज सम्पन्न भएको हो ।

बैठकले राष्ट्रिय समन्वय परिषदमा पठाउने ७ र प्रदेशले कार्यान्वयन गर्ने १६ वटा निर्णय गरेको हो । बैठकले आईईई, ईआईए पश्चात रुख कटानको व्यवस्था प्रदेशबाट हुने व्यवस्था गर्न, रज्जु मार्गको स्वामित्व प्रदेशलाई दिनुपर्ने लगायतका विषयमा राष्ट्रिय समन्वय परिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले विद्युत् विधेयक शीघ्र पारित गर्न, विपद् प्रभावत क्षेत्रको पुनः निर्माणको बजेट उपलब्ध गराउन पनि राष्ट्रिय समन्वय परिषदमा सिफारिस गर्ने निर्णय गरेको छ । सार्वजनिक खरिद ऐनमा संशोधन गरी पुरातात्विक महत्वका सम्पदाहरूको पुनःनिर्माणको लागि विशेष कानुनी व्यवस्था गरिनुपर्ने निर्णय गर्दै सिफारिस गरेको छ भने ६ हजारदेखि ७ हजार मिटरसम्मका हिमाल आरोहण इजाजत तथा रोयल्टी सम्बन्धी अधिकार प्रदेशलाई दिनुपर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले बागमती प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको वैयक्तिक सूचना प्रणालीको दर्ता, व्यवस्थापनका लागि राष्ट्रिय किताबखानाको समन्वयमा सूचना प्रणालीको स्थापना तथा सञ्चालन गर्नेलगायतको निर्णय गरेको जनाइएको छ ।