अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

तु खबर संवाददाता
२०८१ माघ ५,शनिबार ०९:१८
file-photo

न्यूयोर्क । अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन रोक्न अस्वीकार गरेपछि टिकटक बन्द हुने भएको हो ।

न्यूयोर्कबाट सञ्चालित खसोखास डटकममा प्रकाशित समाचार अनुसार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेकै बेलामा अदालतले भने टिकटकमाथि प्रतिबन्ध लगाउने कानून रोक्न अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले सामाजिक सञ्जाल एप टिकटकमाथि लगाइएको प्रतिबन्धले संविधानको पहिलो संशोधनको उल्लङ्घन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न जनवरी १० मा बहस सुन्ने निर्णय गरेको थियो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा केही दिन अघि अदालतले शीघ्र रुपमा यस विषयमा मुद्दा हेर्ने सहमति जनाएको थियो ।

गत वर्षको सुरुवातमा संसदले दुईदलीय समर्थनका साथ प्रतिबन्ध पास गरेको थियो, जसलाई राष्ट्रपति जो बाइडेनले अप्रिलमा हस्ताक्षर गरेका थिए । यो कानुन वर्षौँदेखि टिकटकको चिनियाँ मूल कम्पनीले अमेरिकामा राष्ट्रिय सुरक्षा जोखिम निम्त्याउन सक्ने चिन्ताको प्रतिक्रियास्वरुप आएको हो। यद्यपि एपले चिनियाँ स्वामित्वबाट अलग हुने निर्णय गरेमा अमेरिकी बजारमा संचालन गर्न सक्ने बिलमा उल्लेख छ ।

टिकटकमा प्रतिबन्ध लगाउने कानुन जनवरी १९ मा लागू हुने तयारीमा छ, तर त्यसको भोलिपल्ट ट्रम्पले राष्ट्रपति पद ग्रहण गर्ने भएकाले उनका विकल्प सीमित रहेका छन् ।

कानूनले जनवरी १९ देखि टिकटकमाथि प्रतिबन्ध लगाउनेछ । डिपार्टमेन्ट अफ जस्टिसले प्रतिबन्ध जनवरी १९ मा लागू हुने तथा टिकटक डाउनलोड गरिसकेका एप्पल वा गुगल प्रयोगकर्ताहरूलाई प्रत्यक्ष रूपमा निषेध नगर्ने बताएको छ । तर स्टोरबाट एप्लीकेशनलाई हटाएपछि पछि एप्लीकेशनले काम नगर्ने अवस्था आउनेछ ।

१७० मिलियन भन्दा बढी अमेरिकीहरूले टिकटकलाई मनोरञ्जन र सूचनाका लागि प्रयोग गर्दै आएका छन् ।