सिन्धुपाल्चोकको मेलम्चीमा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु
हेटौंडा । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ ।
नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीद्वारा आयोजित प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरे ।
सो अवसरमा मन्त्री महर्जनले मेलम्चीमा समग्र खेलकुद क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्न बागमती प्रदेश सरकार तयार रहेको बताए । कराते राष्ट्रलाई चिनाउने खेल भएको भन्दै यसमा सुधार गरेर जानुपर्नेमा उनले जोड दिए । आफ्नो पहिचान खेलकुदमार्फत् भएको जनाउँदै मन्त्री महर्जनले आगामी बजेट बनाउँदा नमुना काम गर्ने विश्वास दिलाए ।
मेलम्ची नगरपालिकाका प्रमख आइतमान तामाङले खेलकुदमा नगरपालिकाले उल्लेख्य काम गरेको बताए । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रतियोगिताको सफलताका लागि शुभकामना दिए ।
खेलकूदको क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले बताए ।
प्रतियोगितामा ७ प्रदेशबाट महिला १ सय ३० तथा पुरुष १ सय ४० गरि २ सय ७० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ४० इभेन्टमा १ सय ६० पदकको लागि प्रतिस्पर्धा हुनेछ ।