बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको संख्या बढ्दो
हेटौंडा । बागमती प्रदेशमा पछिल्लो समय समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएको छ । प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।
यससँगै प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको संख्या पाँच पुगेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलले जानकारी दिए ।
उनका अनुसार, पछिल्लो पटक सुमेरू सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ पुलचौक ललितपुर, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था काठमाडौं र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौंलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
वित्तीय दायित्व पूरा नगरेको, बचतकर्ताको बचत माग गर्दा फिर्ता नगरेको, बचत फिर्ता गर्ने कार्ययोजना बनाएर पनि कार्ययोजनाअनुसार काम नगरेको लगायत कारणले ती सहकारी संस्थाहरूलाई समस्याग्रस्त सहकारी घोषणा गरेको उनको भनाई छ ।
बचत गरेको रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरूले प्रदेशभरीका एक सय ३७ भन्दा बढी सहकारी संस्थाविरूद्ध उजुरी दर्ता गरेको र दर्ता भएका उजुरीमाथि छानबिन भइरहेको रजिष्ट्रार पोखरेलले जानकारी दिए ।
तीमध्ये ८० वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरी कार्यालयमा पत्राचार गरिएको पनि उनले बताए । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्क नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको रजिष्ट्रार पोखरेलले बताए ।