तीन अर्ब १९ करोड राजस्व संकलन

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार १७:३५
file-photo

मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा तीन अर्ब १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८१–०८२ को गत साउनदेखि पौष महिनाको अन्तिमसम्ममा १९ करोड ६ लाख २२ हजार राजस्व संकलन गरेको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले दिएको जानकारी अनुसार, सो अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको भएपनि ८० दशमलव २९ प्रतिशत अर्थात तीन अर्ब १९ करोड ६ लाख २२ हजार राजस्व संकलन गरिएको हो ।

सो अवधिमा अन्तशुल्क तर्फ एक अर्ब ८३ कारेड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ ९२ लाख ४२ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।

उनका अनुसार, अघिल्लो आव २०८०–८१ को सो अवधिमा चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।