मकवानपुर ट्राफिकले सुरु गर्यो ‘शुभयात्रा अभियान’
मकवानपुर । मकवानपुर ट्राफिक प्रहरीले शुभयात्रा अ भियान सुरू गरेको छ । चितवनबाट सुरुवात गरिएको शुभयात्रा अभियान मकवानपुर ट्राफिक प्रहरीले पनि सुरु गरेको हो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सुरु गरिएको ‘शुभयात्रा अभियान’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पनि आइतबार सुरु गरेको हो ।
जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता बढी हुने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अभियान थालिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।
‘शुभयात्रा मात्र नभनी नमस्कार, आरामै चलाउनुहोस्, पछिल्लो समय मोटरसाइकल दुर्घटना बढेकाले तपाईंहरूको विवरण राख्दै सुरक्षित यात्राको कामना गर्दछौ’, भन्दै ट्राफिक प्रहरीले चालकलाई सचेत गराउने उनले बताए ।
अधिकारीले भने, ‘यस अभियानमा दुई चक्के सवारी चालकलाई हेलमेट लगाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र जीवनको महत्व बुझ्न पनि ट्राफिक प्रहरीले चालकलाई सम्झाउने छ ।’