भरुवा बन्दुकसहित मकवानपुरबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नं. १, गडुवान बस्ने वर्ष ५२ को जीतबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक काँधमा बोकी हिडिरेहेका अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट फलामको विभिन्न साईजको गोलाकार बेरिङ १३ थान, फलामको साईजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद पाउडर ३०५ ग्राम, ढुंगाको वस्तु २४ थान, खुकुरी १ थान बरामद गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
यसैगरी, प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक पोईन्टस्थित पुर्व–पश्चिम सडकखण्डबाट बिल बिजक नभएको अवैध सामान बरामद गरेको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट आज दिउँसो १ बजेको समयमा गौरबाट नारायणगढतर्फ जान आउँदै गरेको प्र.०३–००२ ख २१७९ नं. को यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडीको डिक्किबाट बिल बिजक नभएको कुर्ति १४५ पिस, साडी ४५ पिस गरी अन्दाजी मूल्य रु. एक लाख चालिस हजार बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।