मकवानपुरगढीको २६२ औं विजय उत्सव मनाइयो

तु खबर संवाददाता
२०८१ माघ १०,बिहीबार १७:५३

मकवानपुर । ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा अवस्थित उक्त गढीको बिहीबार एक समारोहबीच विजय उत्सव मनाइएको हो ।

राज्यमाथि आक्रमण गर्न आएका करिक २५ सय मुगल सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी गाउँपालिकाले हरेक वर्ष झै यस वर्ष पनि एक कार्यक्रमको आयोजना गरी विजय उत्सव मनाएको हो ।

कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले पुरातात्विक महत्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण हुन नसकेको बताए ।

मुख्यमन्त्री लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण एवम् प्रर्बद्धनका लागि मास्टर प्लान बनाएर लैजानुपर्ने बताउँदै मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका सस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, मध्यपृतना हेटौंडाका निमित्त पृतनापति सुवासजंग थापा, गोरखबहादुर गणका गणपति निरन्जन धामी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायत मकवानपुरगढी गाउँपालिकाका वडा अध्यक्षहरुको आतिथ्यता थियो ।