बागमती प्रदेश सभा बैठक आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १५ औं अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) दिउँसो बसेको बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यस्तै, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट पेश भएको प्रदेश चलचित्रसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।
त्यसैगरी, बैठकले भौतिक पूर्वाधार मन्त्रालयको भवन नीति स्वीकृत गर्ने, सरकारी कामकाजी तामाङ र नेवार भाषालाई कार्यान्वयन गर्न कार्यदल बनाएर प्रदेश कामकाजी भाषा एने २०८१ कार्यान्वयनको लागि सुझाव पेश गर्न स्वीकृती प्रदान गर्ने, जग्गा एकीकरण (ल्याण्ड पुलिङ) सम्बन्धी विधेयक बनाउन मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती प्रदान गर्ने र अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति स्वीकृती प्रदान गर्ने लगायत निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।