‘स्वदेशी हस्तकला र कृषि उत्पादन उद्यमशीलताका महत्वपूर्ण स्तम्भ हो’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले स्वदेशी हस्तकला, कृषि उत्पादन प्रयोग र वितरण उद्यमशीलताका महत्वपूर्ण स्तम्भ रहेको बताए । शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा दोस्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम एवम् शैक्षिक मेला २०८१ को उद्घाटन गर्दै प्रदेश प्रमुख देवाकोटाले यस्तो बताएका हुन् ।
उनले स्व–उत्पादन प्रयोगहरूले आत्मनिर्भरतालाई बलियो बनाउनुपर्ने भन्दै आन्तरिक उत्पादनमा अधिकतम खपत र निकासी गर्नुपर्नेमा जोड दिए । स्थानीय निकायहरूले कानूनी रूपमा स्थानीय उत्पादनको बिक्री–वितरण र प्रयोगमा ठोस, परिणाममुखी कदम चाल्नुपर्ने उनको भनाई छ ।
स्वेदशी सामाग्रीहरुको गुणस्तर र किफायती मुल्य कायम गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रा स्थानीय र स्वदेशी सामग्रीहरू कार्यालयको पहिरन वा व्यक्तिगत उपहार र सजावटमा प्रयोग गर्नुपर्छ । गुणस्तर र किफायती मूल्य कायम गर्नुपर्छ । आखिर, यो सुरु गर्ने तपाईं एक हुनुहुन्छ ।’
प्रदेश प्रमुख देवकोटाले स्थानीय तथा स्वदेशी कच्चा पदार्थलाई सकेसम्म प्रयोग गरी उत्पादनमा जोडेर बजारको खोजी र विस्तार गर्नुपर्ने बताए । सूचना प्रविधिलाई सकेसम्म प्रयोग गरेर फाइदा लिनुपर्ने बताउँदै उनले त्यसतर्फ राज्यका सबै निकाय सहयोगी बन्न जरुरी रहेको उल्लेख गरे । स्थान विशिष्ट र स्थानीय कच्चा पदार्थको आधारमा उत्पादन पकेट क्षेत्र घोषणा गरी आधारभूत पूर्वाधारसहित औद्योगिक ग्राम निर्माण गर्नुपर्ने उनको भनाई छ । साथै उनले यसो गर्दा लक्ष्य उन्मुख बाटोमा अघि बढ्दै समृद्धि हासिल गर्न सफल हुने बताए ।
हेटौंडा १० नम्वर वडा कार्यालयको आयोजनामा आजबाट सुरु भएको उक्त प्रदर्शनी एवम् शैक्षिक मेला भोलिसम्म संचालन हुनेछ ।
उद्घाटन कार्यक्रम वडाध्यक्ष फूर्वा दोर्जे तामाङ्गको सभाध्यक्षमा भएको हो । वडाध्यक्ष तामाङले स्थानीय उत्पादन वस्तुहरुलाई प्रर्बद्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी मेलाको आयोजना गरेको बताए ।
प्रदर्शनीमा हेटौंडा नगरका १९ वटै वडा भरीका घरेलु तथा हस्तकला, कृषि, ढाकाबाट बनेका समानहरुको प्रदर्शनी तथा बिक्रीण–वितरणमा राखिएको छ । व्यवसायीहरुलाई स्टल निःशुल्क उपलब्ध गराइएको वडाध्यक्ष तामाङले बताए ।
कार्यक्रम टोल विकास संस्था, नगर समन्वयन समिति, वडा समन्वयन समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पा देवि उद्यमि महिला केन्द्र, स्थानीय क्लब, राजनीति दल लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको हो ।