‘सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भयो’
मकवानपुर । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएको बताएका छन् । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद समेत रहेका उनले मकवानपुरको मनहरीमा रहेको नदी उकाश जमिनमा मध्यवर्तीले काम गर्न नदिएको भन्दै सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएको बताएका हुन् ।
सचेतक बर्तौलाले शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मध्यवर्ति क्षेत्र र निकुञ्जका कारण मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरका केही वडाका वासिन्दाहरुलाई समस्या परिरहेको बताउँदै ती क्षेत्रमा जनताको जीवनशैली असहज भएको र विकास निर्माणको काममा समेत बाधा पुगेको बताए ।
उनले कानून निर्माणमा पनि कर्मचारी तन्त्रले अनावश्यक हस्तक्षेप गर्न खोजेको बताउँदै अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु राष्ट्र र जनताको हितमा राखेर गर्नुपर्नेमा जोड दिए । उनले मयुरधापमा औद्योगिक क्षेत्र निर्माण गर्दा ६२ वटा नयाँ उद्योग खोल्न सकिने र सोही अनुसार मकवानपुरका युवाहरुले रोजगारी प्राप्त गर्न सकिने बताए । त्यसबाट सरकारलाई अर्बौं रुपैयाँ राजस्व संकलन हुने समेत उनको भनाई छ ।
मुख्य सचेतक बर्तौलाले हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग बन्द गरेर निजी उद्योगबाट सिमेन्टको मुल्य वृद्धि गर्नु गलत भएको बताए । सरकारको व्यवस्थापकीय त्रुटिको कारण आज सरकारी उद्योगहरु बन्द हुने अवस्थामा पुगेकोमा उनले चिन्ता व्यक्त गरे ।मुख्य सचेतक बर्तौलाले भुमिहिन, सुकुम्बासी नागरिकहरुको सहजताको लागि सरकारले अध्यादेश ल्याएको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी लगायतक सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।