हेटौंडा–३ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ माघ १३,आईतवार ०९:२५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लाई आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–३ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष ढलकबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

यस वडामा कुल बालबालिका १ हजार ४ सय ९८ जना छन् । जसमा ७९३ बालक र ७०५ बालिका रहेका छन् ।

उक्त वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्रसहित ५ वटा विद्यालयहरु संचालनमा छन् । यसैगरी, १२ वटा बाल समुहहरु र एउटा बाल सञ्जाल रहेको छ । जसमा ३०० जना बालबालिकाहरु आबद्ध छन् ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।