हेटौंडा–३ नम्बर वडा बालमैत्री घोषणा

तु खबर संवाददाता
२०८१ माघ १३,आईतवार १७:०७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडालाई आइतबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–३ लाई निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रम ३ नम्वर वडाध्यक्ष ढलकबहादुर थापाको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि लामाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो अवसरमा बोल्दै  उनले बालमैत्री घोषणालाई दिगो रुपमा सार्थकता दिने गरी काम गर्न अनुरोध गरिन् ।

कार्यक्रममा उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक लगायत विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको उपस्तिथि रहेको थियो ।

यस वडामा कुल बालबालिका १ हजार ४ सय ९८ जना छन् । जसमा ७९३ बालक र ७०५ बालिका रहेका छन् ।

उक्त वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्रसहित ५ वटा विद्यालयहरु संचालनमा छन् । यसैगरी, १२ वटा बाल समुहहरु र एउटा बाल सञ्जाल रहेको छ । जसमा ३०० जना बालबालिकाहरु आबद्ध छन् ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।