अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कैलाली, दाङ र सिराह जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने २७ वर्षीय दुर्गेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको छ । उनलाई लागूऔषध ब्राउनसुगर ७ सय ५० मिलिग्रामसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी र सामुदायिक प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीया ललिता राना र २४ वर्षीया मनिता चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.६ प ६०४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, दाङको तुल्सीपुर उपमहानगरपालिका–६ घोराहीरोडबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय २० मिलिग्रामसहित शनिबार सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २१ वर्षीय सन्तोष बिक पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले सिराहाको मिर्चैया नगरपालिका–६ भगतपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ७५ मिलिग्रामसहित सोही नगरपालिका–५ बस्ने २९ वर्षीय भोला पंजियारलाई शनिबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।