प्रथम सहिद क्या.लखन थापाको शालिकमा माल्यार्पण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ स्थित प्रथम सहिद क्या. लखन थापाको शालिकमा माल्यार्पण गरिएको छ ।
सहिद स्मारक विकास समितिद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार स्व. थापाको शालिकमा श्रद्धापूर्वक माल्यार्पण गरिएको हो । कार्यक्रम लखन वाटीका व्यवस्थापन समितिको व्यवस्थापनमा भएको हो ।
प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकाका अध्यक्ष विश्वकुमार आलेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, सचिव रघुनाथ खुलाल, हेटौंडा–८ का पूर्व अध्यक्ष गोपाल बहादुर श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
यस्तै, आज माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा “लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना, नगर स्तरीय बाल क्लब सहभागी र शिक्षक दौड प्रतियोगिता, शिक्षक संगठनको व्यवस्थापनमा महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता र बागमती प्रदेश सरकारको समन्वयमा माघ १६ गते बिहान साढे ७ बजे प्रभातफेरी, सहिद प्रति सलामी (नेपाल प्रहरी, नेपाली सेना), पुष्पार्पण श्रद्धान्जली सभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने सचिव खुलालले बताए ।
समितिले माघ १० गते राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको थियो भने माघ ११ गते शुक्रबार पत्रकार भेटघाट तथा बधाई कार्यक्रम, माघ १२ गते शनिबार विशेष सरसफाई कार्यक्रम र माघ १३ गते रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त समितिले हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।