हेटौंडाको सबै स्वास्थ्य केन्द्रबाट एचपीभी खोप दिइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको सबै स्वास्थ्य केन्द्रबाट महिलाका लागि पाठेघरविरुद्धको एचपीभी खोप दिइने भएको छ ।सोमबार हेटौंडा उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुर्यप्रसाद तिवारीले सो बारेमा जानकारी गराएका हुन् ।
हेटौंडामा यही माघ २२ गतेदेखि २८ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको उपमहानगरपालिका शाखाका प्रमुख तिवारीले बताए । उनले नगर भित्र रहेका स्वास्थ्य केन्द्र र विद्यालयमा हुने सेसन (केन्द्र) बाट खोप अभियान सञ्चालन गर्ने बताए ।
उक्त खोप उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लाइनेछ ।
उनका अनुसार उपमहानगरमार्फत् सञ्चालित १ सय ११ स्वास्थ्य केन्द्र र विद्यालयमा हुने १ सय १८ सेसनबाट कुल ९ हजार २३८ जनालाई खोप दिइने छ । अभियानलाई आगामी वर्षबाट विद्यालयस्तरमा ६ देखि १० कक्षासम्मका छात्राहरुलाई नियमित खोप दिने शाखा प्रमुख तिवारी बताए ।
उपमहानगरपालिकाका खोप समन्वय समितिका प्रमुख तथा नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न महाशाखा तथा शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।