कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

तु खबर संवाददाता
२०८१ माघ १४,सोमबार १६:३८

काठमाडौँ । नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा फागुन १६ गतेबाट चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमीमा फागुन १६ देखि १८ गतेसम्म हुनेछ । महिला र पुरुषमा गरि १७ वटा इभेन्ट प्रतियोगितामा समावेश गरिएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजक डोजोका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसमा गोदावरी नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।

कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ ।

गोदावरी नगरपालिकाका मेयर महर्जनले प्रजातन्त्र प्राप्तिका लागि योगदान गर्नुहुने सन्त नेता पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सम्झना र खेलाडीहरु हौसला बढाउनका लागि सहयोग गर्दै आएको बताए ।

नेपाल कराते महासंघका महासचिव दावा गुरुङले राष्ट्रिय प्रतियोगितामध्ये सबैभन्दा व्यवस्थित रहेको उल्लेख गर्दै महासंघको क्यालेण्डरमा समावेश गरिने बताए । उनले यो प्रतियोगितामार्फत नयाँ प्रतिभा आउन गरेको र भविष्यमा पनि यसले निरन्तरता पाउन विश्वास व्यक्त गरे ।

प्रतियोगिताका परिकल्पनाकार एवम् बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकालाई पहिलो संस्करणबाटै सहयोग गरिरहेकोमा धन्यवाद दिए ।

आयोजक डोजोका अध्यक्ष श्रेष्ठले जिल्ला, प्रदेश र खेलाडीले यो प्रतियोगितालाई उत्साहित भएर प्रतीक्षा गर्ने गरेको उल्लेख गर्दै नयाँ प्रतिभा पनि निस्किरहेको बताए ।