मकवानपुर ट्राफिकद्वारा एक करोड ३२ लाख राजस्व संकलन
मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पछिल्लो ६ महिनाको अवधिमा एक रोड ३२ लाख रुपैयाँभन्दा बढीको राजस्व संकलन गरेको छ ।
मकवानपुर ट्राफिकले चालु आर्थिक वर्ष २०८१/८२ को गत साउन महिनादेखि पुष मसान्तसम्ममा एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।
उनका अनुसार, सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी साधनमाथि कारवाही गरिएको थियो ।
यो अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा यस वर्ष रु १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको उनको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ को सो अवधिमा १५ हजार ८५५ सवारी साधन साधनमाथि कारवाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो ।
यस्तै, सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा परेर २० जनाको मृत्यु भएको छ भने ९४ जना गम्भिर घाइते भएका छन् ।
ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीले बताए । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताए ।