हेटौंडामा विद्यालय शिक्षा विधेयक २०८० माथि प्रदेशस्तरीय छलफल

तु खबर संवाददाता
२०८१ माघ १४,सोमबार १७:००

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सपद्यालय शिक्षा विधेयक २०८० माथि प्रदेशस्तरीय छलफल गरिएको छ ।

संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विचाराधीन अवस्थामा रहेको उक्त विधेयकमाथि सोमबार हेटौंडामा छलफल गरिएको हो ।

छलफलमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल, बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, प्रदेशसभाका प्रमुख सचेतकहरू, प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्यहरु, मन्त्रालयका सचिव, जिल्ला समन्वय समिति, हेटौंडा उपमहानगरपालिका, प्रदेश सभा सचिव, शिक्षक महासंघ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

छलफलमा सहभागिहरुले विद्येयकका प्रमुख सवालमा रहेर आ–आफ्ना धारणा राखेका थिए । सहभागीहरुले निःशुल्क शिक्षाको नाममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुबीच भेदभाव गर्न नहुने, गुणस्तरीय लगानी गरेर गुणस्तरीय शिक्षा निर्माण गर्नुपर्ने, संस्थागत विद्यालय पढेको भरमा नै राज्यले जिम्मेवारीबाट पन्छिने कार्य गर्न नहुनेमा जोड दिएका थिए ।

यसैगरी, शिक्षक काउन्सिल स्थापना, विद्यालय व्यवस्थापन समिति गठनको स्पष्ट व्यवस्था हुनुपर्ने, स्थानीय तह मातहत शिक्षक राख्ने हो भने एक तह बढुवा हुनुपर्नेलगायतको धारणा राखेका थिए ।

त्यस्तै, छलफलमा सो समितिको सभापति अम्बरबहादुर थापाले छलफलमा आएका सुझावलाई शिक्षा विधेयकमा समेटिने बताए । दलीय करणबाट शिक्षालाई मुक्त गर्नुपर्ने भन्दै उनले शिक्षा, स्वास्थ्य, विकास निर्माणको कार्यमा राजनीति हुँदा देशले फड्को मार्न नसक्ने बताए ।

छलफलमा विषय विज्ञ डा.विष्णुबहादुर कार्कीले प्रस्तुतीकरण दिएका थिए ।