खानेपानी तथा सिँचाई मन्त्रालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

तु खबर संवाददाता
२०८१ माघ १४,सोमबार १८:५२

मकवानपुर । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगतिको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले प्रदेशको राजधानी हेटौंडामा सोमबार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पौष मसान्तसम्ममा सम्पन्न गरेका प्रमुख कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको हो ।

सो अवसरमा प्रदेशको १३ जिल्लाका जलस्रोत तथा सिचाईँ डिभिजन कार्यालय, भूमिगत जतस्रोत तथा सिचाईँ विकास डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रतिनिधिहरुले आ–आफ्नो कार्यालयले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खानेपानी, उर्जा तथा सिचाईँमन्त्री श्याम कुमार खड्काले खानेपानी तथा सिचाईँ जनसरोकारको विषय भएकोले जनतासँग समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।

डिभिजन प्रमुख र महाशाखाका प्रमुखले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा असन्तुष्टि व्यक्त गर्दै मन्त्री खड्काले जो सक्रिय छन् उसको प्रगति देखिएको र जो निस्क्रिए छन् उसको प्रगति न्यून देखिएको उल्लेख गरे । उनले सबैले आफ्नो कार्यालयमा परेको बजेटलाई समयमा नै सदुपयोग गर्नु आग्रह गरे ।

यस्तै, कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मोहन कुमार शाक्यले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव शाक्यले मन्त्रालयको कुल बजेटको ३७ दशमलव ६७ प्रतिशत कार्य सम्पन्न भएको बताए ।

उनका अनुसार, सो अवधिमा कुल (पुँजीगत) प्रदेश र संघतर्फको कुल बजेटमा १० दशमलव ०५ प्रतिशत प्रगति भएको छ भने वितिय प्रगती ११ दशमलव ४८ र भौतिक प्रगती ३० दशमलव ०३ प्रतिशत रहेको छ ।