एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँँसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी आह्वान गरिएको हो ।
सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने मुख्य सचेतक बर्तौलाले बताए ।
यही माघ १८ गतेबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।