क्रेष्ट माइक्रो लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । सो कम्पनीले आज माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ खुल्ला गरेको हो ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १०० रुपैयाँका दरले सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
सोमध्येबाट १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको जनाइएको छ ।
वैदेशिक रोजगारमा रहेकाले आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यसको लागि यही माघ २९ गतेसम्मको लागि समय तोकिएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सकिने जनाइएको छ ।
कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने जनाइएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।