बागमती प्रदेशका २ लाख ९८ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने
मकवानपुर । बागमती प्रदेशका २ लाख ९८ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ ।
प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २ लाख ९८ हजार तीन सय ५ जना किशोरीलाई एचपीभी खोप लगाउने तयारी गरेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
नेपाल सरकारले यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको खोप अभियान अन्तर्गतका विद्यालय भित्र रहेका २ लाख ७५ हजार ७१ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २ सय ३४ जना किशोरीलाई खोप लगाउने तयारी रहेको निर्देशनालयका निर्देशक नरेन्द्र झाले जानकारी दिए ।
बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौं र सबैभन्दा कम रसुवा जिल्लाका किशोरीलाई एचपीभी खोप लाइनेछ । जसमा क्रमशः काठमाडौंका १ लाख ८ हजार १ सय ४ र रसुवाका १ हजार ६ सय ८६ किशोरीलाई एचपीभी खोप लगाइने निर्देशक झाले बताए ।
यसैगरी, ललितपुर ३१ हजार ९ सय ८५, चितवनका ३१ हजार ५ सय ७०, मकवानपुरका २२ हजार ७ सय १३, भक्तपुरका १९ हजार २ सय ९५, काभैका १६ हजार १ सय १३, सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको उनले बताए ।
त्यस्तै, धादिङका १३ हजार ९ सय ७३ , नुवाकोटका ११ हजार १ सय ७८, सिन्धुपाल्चोका १० ह जार ४ सय ६८ जना, रामेछापका ७ हजार ७८ र दोलखाका ६ हजार ५ सय २० किशोरीलाई खोप लगाइने उनले बताए ।
निःशुल्क प्रदान गरिने खोप अभियानका लागि बागमती प्रदेशमा ४ हजार ५ सय ७९ खोप केन्द्र तोकिने तयारी गरिएको भन्दै निर्देशक झाले अभियानका लागि ४ हजार ३ सय २४ स्वास्थ्यकर्मीका साथै ८ हजार ७ सय ३६ स्वयंसेवक परिचालित हुने बताए ।