‘सहिदहरुको योगदानको कदर गर्नसके मात्रै प्रजातन्त्रको भविष्य उज्वल हुन्छ’
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सहिदहरुले राष्ट्रको लागि दिएको योगदानको कदर गर्नसके मात्रै गणतान्त्रिक प्रजातन्त्रको भविष्य उज्वल हुने बताएका छन् ।
प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको स्वतन्त्रता र प्रजातन्त्रको पुनस्थापनाको लागि सहिदहरुले गरेको त्याग, तपस्या र आर्दशको मुल्यलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए ।
राजनीतिक दलहरुले आफ्नो सत्तास्वार्थको लागि मात्र नभई जनताको मानव अधिकारको संरक्षण एवम् शान्तिसुरक्षाको बारेमा सोच्नुपर्ने उनको भनाई छ । उनले राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन राजनीतिक नेतृत्वले सहिदहरुले देखाएको मार्गचित्रको मूल्यलाई उपेक्षा नगरी राष्ट्रको सार्वभौम प्रजातन्त्रको सुदृढिकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ डोर्याउनुपर्ने बताए ।
यस्तै, सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सहिदहरुले राणा शासनको विरुद्धमा गरिएको त्याग र तपस्यालाई राजनीतिक दलहरुले उपेक्षा गर्नु नहुने उल्लेख गरे । उनले मुलुकलाई दिगो शान्ति, आर्थिक समृद्धि र प्रदेशमा सुशासन ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उक्त अवसरमा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रको स्वतन्त्रताको साथै जनतामा निहित सार्वभौम सत्तालाई अक्ष्क्षुण राख्न सहिदहरुको योगदानलाई आत्मसम्मान गर्नुपर्नेमा जोड दिए । सबै एकजुट हुन सकेमा मात्रै देशमा सुशासन र प्रजातन्त्रको संस्थागत विकासमा गतिशीलता ल्याउन सकिने उनीहरुको भनाई छ ।
कार्यक्रम सहिद दिवस मुल समारोह समितिका अध्यक्ष एवम् प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको सभाध्यक्षतामा भएको हो ।
सो अवसरमा सहिद स्मारक विकास समितिद्वारा सहिद दिवसको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रममध्ये साहित्यक कार्यक्रमतर्फ हेटौंडा–२ निवासी तुलसी घिमिरेलाई श्रीचन्द्र शर्मा स्मृति पुरस्कारसहित सम्मान गरिएको छ । घिमिरेलाई रु २५ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो ।
सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले सहिद सप्ताहको उपलक्ष्यमा रक्तदान, साहित्य एवम् साँस्कृतिक कार्यक्रम र सहिद लखन थापाको योगदानको बारेमा चर्चा–परिचर्चा गरिएको जानकारी दिए ।
यसअघि हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारकमा बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख, प्रदेशका मन्त्रीहरु, पूर्व मुख्यमन्त्री डोरमणि पौडेललगायतले पुष्पगुच्छाका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साथै सहिदहरुप्रति नेपाली सेना र सशस्त्र प्रहरीको एक टुकडीले सम्मानगारत अर्पण गरिएको थियो ।