हेटौंडा–१३ मा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, पदमपोखरीस्थित ठूलोथली गुम्बाडाँडामा आगामी फागुन २ गते सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
सोनाम ल्होछार बृहत् साँस्कृतिक मूल समारोह समितिले बुधबार हेटौंडा–१० स्थित होटल माउन्टमा पत्रकार सम्मेलनको आयोजना गरी २८६१ ओैँ ल्होछार पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।
साँस्कृतिक कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहने मूल समारोह समितिका संयोजक मदन लामाले जानकारी दिए । उनका अनुसार,फागुन २ गते ३ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा १९ वटै वडाका वडाध्यक्ष एवम् विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।
यस्तै, कार्यक्रमका लागि करिव ९ लाख रकम खर्च हुने अनुमान गरिएको छ । जसका लागि हेटौंडा उपमहानगरपालिकाबाट २ लाख, १३ नं वडाबाट १ लाख, संस्कृति तथा पर्यटन मन्त्रालयको तर्फबाट १ लाख प्राप्त भइसकेको र अन्य स्थानबाट आर्थिक स्रोत जुटाउने कार्य भइरहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा उक्त वडाभित्र रहेका २६ वटा टोल विकास समूहलाई एक–एक वटा गरी २६ वटा स्टल निःशुल्क उपलब्ध गराउने र ती स्टलहरुमा तामाङ समुदायले खाने परिकार, लगाउने भेषभुषा लगायत झल्किने खालको सामग्रीहरु राखिने छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तामाङ कलाकारहरुले आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा वडा सदस्य उत्तम गोम्जा, समितिका सदस्य बुद्दिलाल गोले, समारोह समिति सदस्य संगीता वाईबालगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।