हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी

तु खबर संवाददाता
२०८१ माघ १७,बिहीबार १३:३२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने तयारी गरिएको छ । १९ वटा वडा रहेको हेटौंडालाई बालमैत्री घोषणा गर्ने तयारी गरिएको हो ।

हेटौंडा उपमहानगरकी महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले तोकेका ५१ वटा सूचक पूरा गरेर उपमहानगरपालि बालमैत्री घोषणा गर्ने जानकारी दिइन् ।

उनका अनुसार, उपमहानगरमा हालसम्म १७ वटा वडा बालमैत्री घोषणा भइसकेका छन् । अब हेटौंडा– १४ र १५ नम्बर वडा बालमैत्री घोषणा हुन बाँकी छ । ती वडाहरुलाई पनि केही दिनमा नै बालमैत्री वडा घोषणा गरिनेछ ।

यस्तै, हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँले हेटौंडा उपमहानगरलाई आगामी फागुन १ गते बालमैत्री घोषणा गर्ने तयारी रहेको बताए । उनले बालमैत्री घोषणा गर्न हेटौंडा उपमहानगरका वडाहरूमा विभिन्न संंरचना बनाएको जानकारी दिए ।

हेटौंडालाई बालमैत्री बनाउन बालश्रम र बालविवाह चुनौती रहेको उनको भनाई छ । सरोकारवालाहरू स्थानीय तहलाई बालमैत्री घोषणा गर्नुभन्दा पनि त्यसलाई निरन्तरता दिनु ठूलो चुनौती रहेको उनले बताए ।