संसदबाट अध्यादेशको प्रतिवाद गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदबाट अध्यादेशको प्रतिवाद गर्ने निर्णय गरेको छ । सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै माओवादीले संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी रहेको भन्दै विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने बैठकले निर्णय गरेको उनले बताए ।
साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले बताए ।