नेपाल पानी उद्योग महासंघको घोषणा

तु खबर संवाददाता
२०८१ माघ १८,शुक्रबार १२:५४

मकवानपुर । देशैभरीका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको छ । हेटौंडामामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघको घोषणा भएको हो ।

उक्त भेलाबाट बिक्रम लिम्बु चेमजोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुदाथोकी, उपाध्यक्षहरुमा क्रमश रबिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, बिक्रम मण्डल रहेका छन् ।

त्यस्तै,महासंघको महासचिवमा युवा उद्योगी ध्रुव प्रसाद अधिकारी चयन भएका छन् । समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाईँ रहेका छन् । भेलाले तदर्थ समितिको सदस्यहरुमा क्रमश सहदेब बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टक बहादुर सारु, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, शाहिल शाह, रक्की लामा र उपेन्द्र कुमार खड्का सर्बसम्मत चयन भएका छन् ।

नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको निकै माग हुन थालेको छ । यस्तो अवस्थामा देशैभरिमा झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेका छन् ।पानी उद्योगमा १५ अरब भन्दा बढिको लगानी भएको छ भने २२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमा पनि रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारमा प्रत्यक्ष लाभ लिएका छन् ।

तदर्थ समितिका संयोजक बिक्रम लिम्बु चेमजोङले सबै उद्योगीको हकहितको संरक्षण गर्न र नेपालको पानी अन्तराष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गर्नुपरेको बताए। उनले महासंघको पारदर्शितामा प्रश्न उठाउने ठाउँ नरहने गरि तोकिएको समयसिमा भित्र प्रथम अधिवेशन गर्ने समेत बताए । उनले देशभरका सबै पानी उद्योगीहरुलाई महासंघमा गोलबन्द हुन आग्रह गरेका छन् ।

त्यस्तै, तदर्थ समितिका महासचिव युवा उद्योगी ध्रुवप्रसाद अधिकारीले धेरै लामो प्रयास र छलफलपछि महासंघको घोषणा गरिएको बताए । उनले सम्पूर्ण पानी उद्योगीहरुको व्यवसायीकतामा सहयोग गर्न र उद्योगीहरुको हकहितको संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघको घोषणा गरेको बताएका छन् ।

भेलामा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।