मकवानपुर प्रहरीद्वारा पाँच जना पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/07/arrest.jpg)
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न घटनामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित तीन जना र लागूऔषध सेवन गरेर सवारी चलाउने दुई जना गरि पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले ५ किलो ५९० ग्राम लागूऔषध गाँजासहित माघ १५ गते पर्साको भौराटार गाउँपालिका वडा नम्वर ७ बस्ने वर्ष ३० को बिनोद सहनीलाई पक्राउ गरेको छ । उनलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेस्थित चेकपोष्ट अगाडी सडकखण्ड उनलाई पक्राउ गरेको हो । बिरगंजतर्फ जांदै गरेको बागमती प्रदेश.०३-००१ ज ०८९० नम्वरको यात्रुबाहक ईभी गाडीमा सवार भई आएका उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
यस्तै, प्रहरीले ४७ एम्पुल लागूऔषधसहित माघ १६ गते मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने वर्ष ३० को सुमन स्याङतान र सोही ठाउँ बस्ने वर्ष १९ को प्रसुल देउलालाई पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१५ रातोमाटेस्थित चेकपोष्ट अगाडि सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ९५९२ नं.को मोटरसाईकल चालक सुमन स्याङतान र मोटरसाइकलमा पछाडी सवार भई आएका प्रसुल देउलाको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि निजहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध डाईजेपाम १२ एम्पुल, नुर्फिन १९ एम्पुल, र फेनार्गन १६ एम्पुल गरी जम्मा ४७ एम्पुल बरामद गरेको हो । पक्राउ परेका उनीहरूलाई मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
यसैगरी, मकवानपुर प्रहरीले लागु पदार्थ सेवन गरी सवारी साधन चलाउँने दुई जनालाई पक्राउ गरेको छ । माघ १७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको भीमफेदी गाँउपालिका वडा नं. १ बाघझोरास्थित त्रिभुवन सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्नी क्रममा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, चेकजाँचको क्रममा ना १ ज ५४४६ नं. को सुमो चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका- ७ बस्ने वर्ष ३५ को सन्तोष संजेल र ललितपुरको गोदावरी नगरपालिका- ४ बस्ने बर्ष ३६ को सुविन पहरीलाई शंका लागि ड्रग्स टेष्ट किटबाट स्वास्थ्य परिक्षण गर्दा लागूऔषध सेवन गरेको पाइएपछि निजहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध मुद्धा कसुरमा मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको जनाईएको छ।