मकवानपुरबाट ६ महिनामा १३ गैर आवासीय नेपालीले लिए नागरिकता

तु खबर संवाददाता
२०८१ माघ २०,आईतवार १७:०३

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पछिल्लो ६ महिनाको अवधिमा १३ जना गैर आवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् ।

चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि पौष मसान्तसम्ममा ११ जना पुरुष र २ महिला गरी १३ जना गैर आवासीय नेपाली नागरिकले मकवानपुरबाट नागरिकता लिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी चिलुवालका अनुसार, सो अवधिमा सो कार्यालयबाट ५ हजार पाँच सय ७ वटा नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको छ । जसमा वंशजको आधारमा २ हजार पाँच सय ८३ पुरुष र २ हजार आठ सय ८६ महिला गरी ५ हजार चार सय ९० ले नागरिकताको प्रमाणपत्र जारी गरेको छ ।

यसैगरी, सो अवधिमा चार वटा वैवाहिक अङ्गीकृत नागरिकता जारी भएको छ भने ५ हजार ४ सय ७६ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी भएको प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए ।

उक्त अवधिमा मकवानपुरबाट ७ हजार ९ सय ७० वटा राहदानी सिफारिस गरिएको छ भने दुई सय ४६ वटा नाबालक परिचय पत्र वितरण गरेको छ ।

कार्यालयले पौष मसान्तसम्ममा ६ सय ३२ वटा अन्य विभिन्न सिफारिस जारी भएको छ । पौष मसान्त भित्रमा मकवानपुरबाट २० हजार ६ सय ४५ वटा राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन गरिएको छ ।

उक्त अवधिमा छापिएर आएका ११ हजार वटा राष्ट्रिय परिचयपत्र कार्डमध्ये ७ हजार ५ सय ९० वटा वितरण गरिएको छ ।