हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ २०,आईतवार १८:२१

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडाको दुई छुट्टाछुट्टै स्थानबाट लागऔषधसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

शनिबार साँझ ७ बजेको समयमा १४ किलो ९१० ग्राम लागूऔषध गाँजासहित त्रिभुवन राजपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, चौकीटोलबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ९ नामटार बस्ने वर्ष ४५ को राजकुमार मोक्तान रहेका छन् । उनलाई प्रहरी चौकी चौकीटोल, मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको ना. २८ प १२११ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक मोक्तानको साथबाट सो परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

यस्तै, प्रहरीले शनिबार दिउँसो नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ घर भई हाल हेटौंडा–२ चौकीटोल बस्ने ३५ वर्षीय सोमनाथ फुयाललाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनरेक्स ६४ बोतलसहित फुयाललाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

फुयाललाई मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।