राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

तु खबर संवाददाता
२०८१ माघ २३,बुधबार १७:४३
file-photo

काठमाडौं । बिहीबार बस्ने राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थिति हुनका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।

बैठकमा अध्यादेशहरू निर्णयार्थ पेश गर्न लागिएकाले दलहरूले आ–आफ्ना दलका सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएको हो ।
राष्ट्रिय सभामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दुवैतिरका सांसदको उस्तै संख्या रहेको छ ।

राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले म्यासेज तथा टेलिफोनबाटै सांसदहरूलाई काठमाडौं भए नछाड्न र बाहिर भए बुधबार बेलुकीसम्म आइसक्न आग्रह गरेका छन् ।

राष्ट्रिय सभामा ५९ सदस्य रहेका छन् । जसमा नेपाली कांग्रेस १६, नेकपा एमालेका १० र लोकतान्त्रिक समाजवादी पार्टीका १ गरेर सत्तापक्षतर्फ २७ जना सांसद रहेका छन् । मनोनीत सांसद डा. अन्जान शाक्य र बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ ।

यस्तै, विपक्षमा पनि उस्तै मत छ । माओवादी केन्द्रका १७, नेकपा एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरेर २६ जना सांसद छन् । राष्ट्रिय सभामा तीन जना सांसद रहेको जनता समाजवादी पार्टी नेपाल भने निर्णयमा पुगिसकेको छैन । जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान बसेर टुंग्याउने सो पार्टीका नेताहरुले बताएका छन् ।