बागमती प्रदेश सभा आज पनि जारी रहने, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने बैठकमा सांसदहरूका लागि विशेष समयको कार्यसूची निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो ।
सो सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयको कार्यसूचीमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, विकासका काम, आवश्यकता आदिका विषयमा आ–आफ्नो धारणा राख्ने जानकारी दिए ।
यस्तै, बैठकमा प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । बैठकमा गत आर्थिक वर्षमा लोक सेवा आयोगले गरेका काम/कारबाही लगायतका विषयहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन पेश हुने प्रवक्ता गुप्ताले जानकारी दिए ।
यसअघि प्रदेश सभाको बुधबार बसेको बैठकमा ५ विधेयकहरू पेश भएको थियो । बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गर्न ल्याइएको विभिन्न प्रकारको चार वटा विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयक पेश गरिएको थियो ।
बैठकमा ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरिएको हो । ती विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिएको थियो ।