हेटौंडामा फोहोर संकलन कार्य स्थगित

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा फोहोर संकलन कार्य स्थगित गरिएको छ । उपमहानगरपालिकाले आज (बिहीबार) एक सूचना जारी गरी उच्च अदालत पाटन, हेटौंडा इजलासको आदेश बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि फोहोर संकलन कार्य स्थगित गरिएको जानकारी गराएको हो ।
जारी सूचनामा भनिएको छ, ‘उच्च अदालत पाटन, हेटौंडा इजलासको मिति २०८१ माघ २२ मा जारी अल्पकालीन अन्तरिम आदेश अनुसार अर्को आदेश वा व्यवस्था नभएसम्मको लागि यस उपमहानगरपालिकाले फोहरको संकलन र व्यवस्थापन गर्दै आएको नियमित संकलनको कार्य स्थगित गरिएको छ ।’
साथै उपमहानगरपालिकाले यसबाट पर्न जाने असुविधाप्रति उपमहानगरपालिका संवेदनशिल रहेको भन्दै यस्तो असहज परिस्थितिमा विगतमा जस्तै नगरबासीहरुको सकारात्मक सहयोग रहने अपेक्षा लिएको जनाएको छ ।