जनमुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री महर्जनको निर्देशन

तु खबर संवाददाता
२०८१ माघ २४,बिहीबार १४:२४

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मन्त्रालय र मातहतका निकायहरुलाई आसपी समन्वय बढाउँदै जनमुखी र परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय मातहतका परिषद्हरुको आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमकोे समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एकजुट भएर काम गर्दा उत्कृष्ट नतिजा निकाल्न र समाजमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने भन्दै आसपी समन्वय बढाउनुपर्नेमा जोड दिए ।

उनले जनताले सेवाको गुणस्तर अनुभूति गर्नका लागि सेवा प्रक्रिया र वितरणमा सुधार ल्याउँदै कागजी कारबाहीलाई सरल एवम् पारदर्शी बनाउनुपर्ने बताए । उनले कर्मचारीको कार्य प्रदर्शनको मूल्याङ्कन गरी उचित प्रोत्साहन दिइनेसमेत बताए ।

उनले प्रदेश खेलकुद विकास परिषद् र युवा परिषद्ले सञ्चालन गर्दै आइरहेको आयोजनाहरुलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाउँदै कार्यालय प्रमुखहरुलाई उच्च मनोबलसहित काम गर्न निर्देशनसमेत दिए ।

देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्ययोजना बमोजिम नतिजा हासिल गर्नेतर्फ अग्रसर हुन उनले निर्देशन दिए । मन्त्री महर्जनले प्रभावकारीरुपमा कार्यसम्पादन गर्न तथा उपयुक्त ढंगका योजनाहरु तयार गर्नसमेत निर्देशन दिए ।

उनले आफ्नो कार्यकालमा युवा तथा खेलकुद क्षेत्रको समग्र विकास, विस्तार र प्रर्वद्धन गर्दै युवा र खेलाडिहरुको भावना अनुसार उल्लेखनीय काम हुने भन्दै त्यसमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरे ।

बैठकमा मन्त्रालयका सचिव केशवराज सुवेदी र परिषद्का सदस्य सचिव दीपक लामा र खेल विज्ञ दीपक श्रेष्ठले मन्त्रालय र परिषद्हरुको प्रगतिका साथै आयोजनाहरुकोे वित्तीय एवम् भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरुबारे चासो व्यक्त गरेका थिए ।

बैठकमा प्रदेश युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे, प्रदेश खेलकुद विकास परिषद्का कार्यालय प्रमुख बद्रीबहादुर पाठक र मन्त्रालयका प्रवक्ता सूर्यबहादुर दाहालले आर्थिक वर्ष २०८१/८२ पुष मसान्तसम्म भएका काम कारबाही, बजेट खर्चको अवस्था, सञ्चालन भइरहेका आयोजनाहरु तथा समग्र गतिविधिको विषयमा जानकारी गराएका थिए ।