खानेपानी सम्बन्धि ऐन ल्याउँदै बागमती सरकार

तु खबर संवाददाता
२०८१ माघ २५,शुक्रबार १७:४४

मकवानपुर । बागमती प्रदेश सरकारले खानेपानी सम्बन्धि एने ल्याउने तयारी गरेको छ । प्रदेशको खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले प्रदेश सरकारले खानेपानी सम्बन्धि ऐन ल्याउन लागेको जानकारी दिएका हुन् ।

शुक्रबार वाटर एड नेपालसँगको सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले उपभोक्ता समितिहरुलाई नियमनको लागि उक्त ऐन ल्याउन लागेको बताए ।

संघीय सरकारले बनाएको ऐन संग नबाझिने गरी प्रदेश सरकारले ऐन बनाउने उनको भनाई छ । ऐनको ड्राफ्ट अन्तिम चरणमा रहेको र प्रदेश सभाको चालु अधिवेशनमै ऐनलाई पेश गर्ने तयारीमा रहेको उनले बताए ।

उनले संघीयताको कार्यान्वयन पश्चात् प्रदेश सरकार मातहात आएका खानेपानी कार्यालयहरुको कार्ययोजनालाई व्यवस्थित गरिने समेत उल्लेख गरे । उपभोक्ता समितिहरुलाई महासंघले पनि विधान बनाएर नियमन गर्नुपर्नेमा उनले बताए ।

यस्तै, सो क्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य भारती पाठकले जलवायु परिवर्तंनको प्रत्यक्ष असर महिलाहरुमा पर्न गएको बताइन् । उनले वन, वातावरण, जलको नजिकको सम्बन्ध भएपनि जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दै गएको बताइन् ।

कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले देशभरमा ४३ हजार उपभोक्ता समिति रहेको पनि महिलाले नेतृत्व गरेका समिति निकै न्यून मात्रामा रहेको बताए । खानेपानी क्षेत्रमा प्रमुख उपस्थिती महिलाको रहने भएकाले नेतृत्व र निर्णायक तहमा पनि महिलाको सहभागिता सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए ।

खानेपानी संस्थानका अध्यक्ष राजेन्द्र अर्याल, मन्त्रालयका सचिव मोहन कुमार शाक्य लगायतले नेतृत्व तहमा महिला सहभागिता बढ्दा समुदायमा सकारात्मक सोचको विकास हुनुको साथै योजना कार्यान्वयनमा पारदर्शिता देखिने धारणा राखेका थिए ।

३३ प्रतिशतबाट बढाएर महिला सहभागिता ५० प्रतिशत पुराउन नीतिगत सुधार आवश्यक रहेकोमा सहभागीको जोड थियो । कार्यक्रममा बागमती प्रदेशका खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।