बागमती प्रदेश सभा बैठकः चार वटा विधेयक विभिन्न समितिमा पठाइयो

तु खबर संवाददाता
२०८१ माघ २६,शनिबार १८:३७

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकले चार वटा संशोधन सहितको विधेयक विभिन्न समितिहरुमा दफावार छलफलको लागि पठाएको छ । बैठकले दुई विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समिति र दुई वटा विधेयक पर्यटन तथा वातारण समितिमा दफाबार छलफलको लागि पठाइएको हो ।

बैठकले ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो । उक्त विधेयक क्रमशः स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पेश गरेका थिए ।

यस्तै, बैठकले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रोदशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रोदशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई पर्यटन तथा वातारण समितिमा पाइएको छ । उक्त दुबै विधेयक उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले छलफलमा पठाइयोस् भनि प्रस्तुत गरेकी थिइन् ।

ती विधेयकहरु सोही बैठकले सर्वसम्मतीले स्वीकृत प्रदान गरेको थियो । प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक भने सो बैठकमा पेश हुने कार्यसूचीबाट हटाइएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराएका थिए ।

सभामुख पाठकले प्रदेश सभाको अर्को बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए ।