क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गयो

तु खबर संवाददाता
२०८१ माघ २७,आईतवार ०९:२५
file-photo

काठमाडौं । क्यारेबियन सागरमा शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार, भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण–पश्चिममा पर्दछ ।

यस्तै, भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको छ । यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको हो ।

राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सावधानी अपनाउन आग्रह गरेको छ ।

मुख्यगरी केम्यान टापु सरकारले भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै, तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्ने अनुरोध गरेको छ । –एजेन्सी