दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुरले जित्यो

तु खबर संवाददाता
२०८१ माघ २७,आईतवार ०९:५७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले हात पारेको छ । प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङले उपाधी जितेको हो ।

प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित दोस्रो भएको छ भने चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित तेस्रो स्थानमा हाँसिल गरेको छ ।

प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । विजेताहरूलाई हेटौंडा उपमहानगरपालिका–१७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

शुक्रबारदेखि हेटौंडा–१७, हटियामा सुरु भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा कूल ४० विधामा १८ टोलीका ३४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक भोजराज पराजुलीले जानकारी दिए । कार्यक्रमका लागि हेटौँडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, हेटौंडाका विभिन्न वडाहरूसहित संघसंस्था तथा खेलप्रेमीहरूको सहयोग रहेको थियो ।